| साझा प्रकाशनले नेपालको पुस्तक बिक्रीवितरणको एक मात्र राष्ट्रिय स्तरको प्रतिनिधि संस्थाको रूपमा युनेस्कोद्वारा २०३५ सालमा नेपालको निमित्त राष्ट्रिय एजेन्सीको रूपमा मान्यता प्राप्त गरेको छ । युनेस्कोअन्तर्गतको एसिया तथा प्रशान्तक्षेत्र सांस्कृतिक केन्द्र (एसीसीयु) को सहप्रकाशन कार्यक्रममा साझा प्रकाशन पनि सम्मिलित भई बर्सेनि एसीसीयुद्वारा प्रकाशित पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्दै आएको छ । युनेस्कोको आयोजनामा हुने विभिन्न सम्मेलन, कार्यशालागोष्ठी, सेमिनार, पुस्तकमेला, तालिम आदिमा साझा प्रकाशनले विदेशी भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद र प्रकाशन गरी साहित्यिक क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
साझा प्रकाशन सेवामूलक व्यावसायिक संस्था हो । यसले आफ्नो निश्चित व्यवसाय तथा कारोबारबाट अर्जित अधिकतम हिस्सा नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि लगानी गर्ने गरेको छ । तर हाल देशमा परिकल्पना गरिएको प्रतिस्पर्धात्मक आर्थिक वातावरणअनुरूप निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने एक व्यवसायीक संस्थाले आफ्नै खर्चमा भाषा-साहित्यको प्रकाशन तथा विकास गर्ने जस्तो राष्ट्रिय दायित्व वहन गर्न ज्यादै कठिन हुन्छ । आफ्नो कुल कारोवारको ७० प्रतिशत कारोबार पाठ्यपुस्तक वितरणमा मात्र केन्द्रित रहेको यस संस्था आफैँमा सक्षम एवम् आत्मनिर्भर हुन पुस्तक मुद्रण, प्रकाशन र वितरणको कार्यलाई समन्वयात्मक रूपमा अघि बढाई हालको वितरणको कार्यलाई समेत निरन्तरता दिँदै आगामी ५ वर्षमा सो कारोबार ७० प्रतिशतबाट तल झारी ५० प्रतिशतभन्दा कममा ल्याउनुपर्ने देखिन्छ । यसका लागि संस्थाले निम्न विषयहरूलाई बढावा गराउनुपर्ने हुन्छ ।
१ स्कुलस्तरका सन्दर्भ पाठ्यपुस्तकको प्रवर्द्धन गर्ने ।
२ साझा अभ्यास पुस्तिका (कापी) उत्पादनलाई बढी प्रभावकारी बनाउने ।
३ विश्वविद्यालयस्तरका पाठ्यपुस्तकहरू बढी छापी बिक्री गर्ने ।
४ संस्थाको छापाखानाको कारोबार बढाउने ।
५ विश्वविद्यालयस्तरका नेपाली विषयबाहेक अन्य विषयको पनि पाठ्यपुस्तकहरू तयार गरी छाप्ने ।
६ विभिन्न कोषहरूको प्रवर्द्धन गर्ने ।
भाषा-साहित्य, शिक्षा, संस्कृति, कला तथा ज्ञान–विज्ञानको उन्नति नै सुसंस्कृत तथा समुन्नत राष्ट्रको पहिचान हुन सक्तछ । यस्ता गहन जिम्मेदारी पूरा गर्ने सरकारको दायित्वप्रति आफ्नो क्रियाशील सहभागिता अपेक्षित रूपमा उपलब्धिपूर्ण सहयोग हुनेछ भन्ने साझा प्रकाशनको अभीष्ट हो। समग्र नेपाल राष्ट्रको समुन्नतिका लागि देशभर शिक्षा साथै साहित्यको मर्म र महत्त्व विस्तारित होस् भन्ने अभिप्रायले साझा प्रकाशन आफ्नो कार्यक्षेत्रलाई सक्दो विस्तार र व्यापक गर्न प्रयासरत छ । शेयरसहभागिता-द्वारा प्राप्त न्युन रकम र पुस्तक प्रकाशन, मुद्रण तथा बिक्रीवितरणद्वारा अर्जित स्रोतको आधारमा महत्तम सेवामा समर्पित यस संस्थाप्रति राष्ट्रको हरेक क्षेत्र अझ खास गरी उच्च निकायको सदभाव र सहानुभूति अपेक्षित हुन्छ।
सारांशमा भन्नुपर्दा साझा प्रकाशन नेपाली भाषा-साहित्यको संवर्धन तथा शिक्षाको विकासमा समर्पित संस्था भएकाले यसको निश्चित र निरन्तर भविष्यका लागि राष्ट्रको नीतिनिर्माण तहबाट नीतिगत रूपमा प्रकाशन, मुद्रणका साथै पाठ्यपुस्तकको बिक्रीवितरणजस्ता कार्यका लागि उचित संरक्षण र सहयोग प्राप्त हुने कुरामा आशावादी हुनु स्वाभाविक हुन्छ । |